करिब १ वर्षदेखि मेरो एक जना युवतीसँग मित्रता छ । उनी र मबीच शारीरिक सम्बन्ध पनि भएको थियो । उनको उमेर १९ वर्ष छ भने मेरो २५ वर्ष । हाम्रो योजना छिट्टै विवाह गर्ने पनि छ । यसबीच युनिभर्सिटीमा साथीहरूबीच केटीहरूको शारीरिक बनावट, अङ्गलगायतका विषयमा अनेकौं गफ भए । उक्त गफले मलाई धेरै चिन्तित तुल्याएको छ । युवतीको स्तनको परिवर्तनका बारेमा थियो । स्तनको टुप्पो पुस्ट (Tight below nipple) नभएको, स्तनको टुप्पो तल झरेको र त्यो भाग मसिनो छ भने सम्बन्धित युवतीले बच्चा जन्माएको हुनुपर्छ वा एकपटक गर्भ रहेको हुनुपर्छ भन्ने कुरा साथीहरूले सुनाए । मेरी केटी साथीको स्तन पनि सन्तान जन्माएको जस्तो देखिन्छ । टुप्पो पुस्ट (Tight) छैन तसर्थ उनले यसअघि कसैको बच्चा जन्माएको वा गर्भ रहेको त होइन ? युवतीहरूमा कुन उमेरमा स्तनमा परिवर्तन देखिन्छ ? के बच्चा जन्माएपछि युवतीको स्तन टम्म (पुस्ट) हुन्छ ? कतै मलाई उनले फसाउने त होइनन् ? कृपया स्तनका बारेमा सबै उमेर तहको परिवर्तन के–कस्तो हुन्छ स्पष्ट पारिदिए मलाई आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिन सहज हुने थियो ।

म.

स्तनको संरचना, विकास र आयतनमा परिवर्तन
स्तन शिशुको पोषणका साथै यौनका दृष्टिकोणले पनि एकदम महत्वपूर्ण अंग हो । बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुने भए पनि किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा प्रारम्भ भएर १५ वर्षमा पूरा हुन्छ । चिकित्सा विज्ञानका दृष्टिकोणले ‘स्तन’ ग्रन्थि, बोसो तथा रेशीय (Firbrous) तन्तुले बनेको पिण्ड हो । स्तनमा दूध बनाउने ग्रन्थिहरू, दूधग्रन्थिबाट मुन्टोसम्म दूध ओसार्ने नलीहरू, मुन्टो, मुन्टो वरिपरिको भाग (Areola), रेशीय तन्तु अनि बोसो हुन्छ । यो छातीको मांसपेशीको भित्तामा रेशीय तन्तुको Strands जसलाई Cooper's Ligaments को मद्दतले टाँसिएको हुन्छ ।

स्तनको विकासको कुरा गर्दा आकृति (Shape), आयतन (Size) लाई नै Tanner Stage भनिने ५ चरणमा बाँडिएको छ ।

पहिलो चरण : यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।

दोस्रो चरण : Bud जस्तो देखा पर्छ, स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।

तेस्रो चरण : स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु (Glandular Tissue) बन्छ ।

चौथो चरण : Areola र मुन्टो थप उठ्छ, स्तनका सबै भागमा अझै वृद्धि हुन्छ ।

पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुन्छ, स्तनले गोलाकार आकृति लिन्छ, Areola स्तनको अन्य भागको सतह समान हुन्छ र मुन्टो मात्र उठेको स्थितिमा हुन्छ

पूर्ण विकसित स्तनको आकार र आयतनमा (साइज) मा भिन्नता पाइन्छ । गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा यो अझ ठूलो हुन्छ । यसलाई पोषणको स्थितिले पनि प्रभाव पार्छ । व्यक्तिको वजन धेरै भए यसको साइज पनि ठूलो हुन्छ । स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिँदैन । महिनावारी बन्द भए पछि र उमेर धेरै बढेपछि स्तनको खँदिलोपन अझ कम हुँदै जान्छ र आयतन पनि कम (सानो) हुन्छ ।

स्तन किन पुष्ट नभएको ?
हाम्रो समाजमा पनि ठूलो र साह्रो स्तनलाई नै मन पराइन्छ । यसको सौन्दर्यसँग स्तनको आकार तथा आकृति पनि जोडिएकाले महिला तथा पुरुष दुवैमा यसप्रति चासो भएको पाइन्छ । यथार्थ के हो भने व्यक्तिअनुरूप स्तनको स्वरूप तथा आकारमा विविधता हुन्छ । सामान्यत: स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्किन सक्ने गुण, रागरस (हार्मोन) हरूको प्रभाव हुन् र स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन आउँछ । किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र यसका तन्तुहरू पनि निकै खाँदिएको हुने भएकाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा एकातिर वंशाणुगत कुराहरूको प्रभाव हुन्छ भने अर्कातिर पोषणको । कडा वा कसिलो स्तन भए पनि बोसोले बनेकाले यो एकदम कडा हुँदैन भन्ने कुरा पनि तपाईंलाई थाहै होला ।

उमेर बढ्दै जाँदा यो कम खँदिलो हुँदै जाने तथा थप तलतिर झोल्लिने क्रम पनि स्वभाविक रूपमै हुन्छ । अत्यधिक धूमपान, शरीरको तौल चाँडो बढ्ने तथा घट्ने स्थितिले पनि खँदिलोपन कम हुने तथा झोल्लिने समस्या देखिन्छ । गर्भावस्थामा सामान्य अवस्थाभन्दा भारी तथा अझ पूर्ण विकसित हुन्छ र यसलाई अड्याउने तन्तुमा केही लचिलोपन आउँछ र स्तन झोल्लिन्छ । शिशुलाई स्तनपान गराउँदा यसको खँदिलोपन कम हुने वा झोल्लिने हुँदैन भन्ने कुरा पुष्टि भैसकेको छ । स्तनलाई उचाल्न वा कसिलो जस्तो देखाउन सहयोग गरे पनि थुनचोली (Bra) ले स्तनको खँदिलोपन अनि नझोल्लिन सघाउँदैन । स्तनमा कुनै माशंपेशी हुँदैन, त्यसैले कसरत गरेर यसलाई खँदिलो र नझोल्लिने बनाउन सकिँदैन ।

के तपाईंलाई फसाउन लागिएको हो ?
स्तनको आकार वा खँदिलोपनलाई लिएर गरिएको तथ्यहीन गफलाई लिएर यसरी निकट भविष्यमा विवाहको सोच बनाई जीवनभर साथै बस्ने योजना बनाइरहेकी साथीप्रति शंका गर्नु नै तपाईंको मुख्य समस्या हो । यस्तो शंकाका आधारमा कसरी सुखमय वैवाहिक जीवनको जग बस्ला ? तपाईंकी महिला मित्रले अनावश्यक रूपमा शंका गरेको थाहा पाउनुभए सोच्नै नसक्ने स्थिति उत्पन्न हुन सक्छ । कैयौं कारणमध्ये गर्भ एक कारण भए पनि स्तन कम खँदिलो हुनु वा झोल्लिनुले अर्को व्यक्तिसँग यौन सम्पर्क भएको कुरालाई पुष्टि गर्दैन ।

यौनसम्पर्क र विवाहसम्मको कुरा गर्नुभएकाले तपाईंहरूबीच प्रगाढ सम्बन्ध भएको संकेत मिल्छ । तपाईंहरूबीचको सम्बन्ध कत्तिको सुमधुर र प्रेमपूर्ण छ जानकारी भएन । उहाँले फसाउन लागेको हो कि होइन भन्न सकिने आधार तपाईंको सन्देशमा भएको जानकारीका आधारमा फेला पार्न सकिँदैन । बरु स्तनको आयतन वा खँदिलोपन तपाईंको अपेक्षाभन्दा केही फरक पर्‍यो भन्दैमा यति धेरै शंका गर्नुले तपाईंमा चाहिँ उहाँप्रति कति प्रेम छ भन्ने सन्देह उत्पन्न हुन्छ । यसरी शंकाका आधारमा सुखी वैवाहिक जीवन प्रारम्भ गर्न वा त्यसलाई विर्वाह गर्न सकिँदैन ।